परियोजना कार्यान्वयन इकाईले जोन विकास कार्यक्रम सञ्चालनमा सहजीकरण र लाभग्राहीको अनुगमन गर्न लाभग्राहीको प्रतिनिधित्व रहने गरी परियोजना कार्यान्वयन इकाईमा जोन स्थापनाका लागि सूचीकृत भएका निश्चित क्षेत्र भित्रका संस्थाहरुको प्रतिनिधित्व हुने गरी ९ सदस्यीय जोन सञ्चालन समन्वय समिति गठन गर्नु पर्नेछ। यसरी गठन हुने समितिमा कम्तीमा ३ जना महिलाको सहभागिता हुनु पर्नेछ। सदस्य मध्ये एक जना समितिको संयोजक हुनेछ र समिति एवं सदस्यको पदावधि २ आर्थिक वर्षको हुनेछ।
जोन सञ्चालन समन्वय समितिको भूमिका देहाय बमोजिम हुनेछ:-
- जोन क्षेत्रमा भएका विद्यमान प्रविधि र पूर्वाधारहरुको अभिलेख तयार गर्न सहयोग गर्ने र जोन सञ्चालन अवधिको कार्ययोजना तयार गर्न परियोजना कार्यान्वयन इकाईलाई सहजीकरण गर्ने।
- जोन अन्तर्गतका कृषक, कृषक समुह, कृषि सहकारी, उद्यमी, कानून बमोजिम दर्ता भएका कृषि सम्बन्धित कम्पनी वा फर्महरुको विवरण अद्यावधिक गर्न सहजीकरण गर्ने।
- जोन क्षेत्रका कृषकहरुको माग संकलन गरी परियोजना कार्यान्वयन इकाईमा पेश गर्ने, प्रविधि प्रसार एवं उत्पादित वस्तुको बजारीकरण र उद्योगसँग जोड्न सहजीकरण गर्ने।
- जोन अन्तर्गत समूहिक खेती, सहकारी खेती, चक्लावन्दी खेती र पशुपालन प्रवर्द्धन गर्न परियोजना कार्यान्वयन इकाईलाई सहजीकरण गर्ने।
- परियोजना अन्तर्गत स्थापना गरिएका पूर्वाधारहरुको विकास, प्रयोग र सम्वर्द्धनमा समन्वय र सहजीकरण गर्ने।
- परियोजनाका सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्ने।
- जोन क्षेत्र भित्र सञ्चालन गरिने वार्षिक कार्यक्रमको सहभागितात्मक योजना तर्जुमाको लागि परियोजना कार्यान्वयन इकाईसँग समन्वय गर्ने।
- जोन विकास कार्यक्रमको अनुगमन एवं पृष्ठपोषणमा परियोजना कार्यान्वयन इकाईलाई सहजीकरण गर्ने।