परियोजना अन्तर्गतको जोन/सुपरजोन विकास कार्यक्रम सञ्चालनको लागि परियोजना कार्यान्वयन इकाई रहनेछ। परियोजना कार्यान्वयन इकाईको भूमिका देहाय बमोजिम हुनेछ:-
(क) जोन/सुपरजोन विकासका लागि तय भएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गर्ने।
(ख) परियोजना कार्यान्वयनका लागि कृषि सहकारी, समुह र कृषि उद्यमीहरुको अभिमूखीकरण तथा क्षमता विकास गर्ने।
(ग) सम्बन्धित बालीको अनुसन्धान तथा विकास केन्द्रका रुपमा कार्य गर्ने तथा बाली विशेषको पकेट, ब्लक, जोन र सुपरजोनसँगको अनुसन्धान प्रसार सेवा र कृषि शिक्षाको सम्बन्ध (Linkages) र पहुँच (Access) स्थापना गर्ने।
(घ) बजेट तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनसँग सम्बन्धित निकायहरुबीच कार्यमूलक समन्वयको व्यवस्था मिलाउने।
(ङ) जिल्ला स्थित कृषि/पशु सेवा क्षेत्र हेर्ने कार्यालयसँगको समन्वयमा वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने।
(च) जोन/सुपरजोनमा भएका विद्यमान प्रविधि र पूर्वाधारहरुको अभिलेख तयार गर्ने।
(छ) जोन/सुपरजोन अन्तर्गतका कृषक समुह, कानुन बमोजिम दर्ता भएका कृषि उद्यमी तथा कृषि सहकारीहरुको विवरण अद्यावधिक गर्ने।
(ज) परियोजनको लक्ष्य र उद्देश्य हासिल गर्न सहयोगी कार्यक्रम सञ्चालन गर्ने।
(झ) जोन/सुपरजोन अन्तर्गत समूहिक खेती, सहकारी खेती, करार खेती र चक्लावन्दी खेती प्रवर्द्धन गर्ने नीतिलाई कार्यान्वयन गर्ने।
(ञ) जोन/सुपरजोन अन्तर्गत कृषि पूर्वाधारहरुको विकास गर्ने।
(ट) परियोजनाका सरोकारवालाहरु (स्थानीय तह, प्रदेश सरकार मातहतका निकाय, अनुसन्धान र कृषि फार्म केन्द्र) सँग समन्वय र सहकार्य गर्ने।
(ठ) परियोजनाको प्रगति नियमितरुपमा परियोजना व्यवस्थापन इकाईमा प्रतिवेदन गर्ने।
(ड) परियोजनाबाट तोकिएका परियोजना कार्यान्वयन इकाईले प्रदेश स्तरमा समन्वय र रिपोर्टिङको समेत कार्य गर्ने।
(ढ) सञ्चालित जोन र सुपर जोनको प्रोफाईल तयार गर्ने।
(ण) जिल्लामा सञ्चालित पकेट, ब्लक, जोन र सुपरजोन विकास कार्यक्रमको लागि परियोजनाको समन्वय इकाईको रुपमा कार्य गर्ने।